Saturday, June 5, 2010

इतिहासको पानाबाट............................

देशमा राणाशासनको अन्त्य भयो, प्रजातन्त्र स्थापना भयो र देखियो शैक्षिक जगतमा उदारीकरण । फलस्वरुप गाउँ गाउँका जनता आफ्ना सन्तानको उज्यालो भविष्यका लागि विद्यालय स्थापना गर्न जुटे । यही सिलसिला— वि.सं. २००८ साल माघ २३ गते तत्कालिन हर्नामाडी क्षेत्रका बासिन्दा अनि राजनीतिक कार्यकर्ताको पहलमा खुल्यो मकवानपुरको जिल्लाको दोश्रो शिक्षालय बालबोध मिडिल स्कुल ।
प्रधानाध्यापक थिए, भारतबाट झिकाइएका वैद्यनाथप्रसाद सिंह । अनि विद्यालयको सञ्चालनको जिम्मा लिए, बखतबहादुर बानियाले । बखतबहादुर बानिया त्यो नाम थियो, जसका कारण बालबोध मिडिल स्कुलले जन्म लिने सौभाग्य पाएको थियो । उनैको त्यतिबेलाको समयको एक हजार रुपैया आर्थिक सहयोगका कारण जिल्लाकै इतिहास बोकेको यो बालबोध मिडिल स्कुलले अस्तित्व पाएको थियो ।
वि.सं.२००८ सालमा विद्यालयको पठन पाठन शुरु भयो हर्नामाडिको दोभान चौरमा । विद्यालय त शुरु भयो, तर विद्यालय आसपासका क्षेत्रमा बसोबास पातलो हुनु र तरीक्षेत्रमा बस्ति बढ्दै जानुले विद्यालयलाई बसाईँ सर्नुपर्ने अवस्था सम्म ल्याइपु¥यायो र विद्यालय आइपुग्यो, वि.सं. २०३० साल पुष २६ गते हटिया गाउँ विकास समितिको वडा नम्बर ३ स्थित डिपो चौरमा । त्यहीँ थियो धर्मभकारी त्यतिबेलाको, अनि त्यहीँको काठको घर अनि स्थानीय बासिन्दाले स्याउलाले छापेर बनाएको छाप्रोमा चल्यो विद्यालय । पञ्चायतकालीन अवस्था, अनि पञ्चहरुको हालीमुहाली रहेको धर्मभकारीमा विद्यालय टिक्न सकेन र फेरि बसाईँ स¥यो, बालबोध निम्न माध्यमिक विद्यालय बनिसकेको मिडिल स्कुल हालको स्थान— हटिया गाउँ विकास समितिको वडा नम्बर ३, भुलभुलेमा । यो प्रसँग वि.सं. २०३० साल माघ १७ गतेको ।

1 comment:

  1. बालबोधको यस प्रयासलाई सलाम छ !
    यो लेख अझ फैलिन पा'भए हुन्थ्यो !

    ReplyDelete