Sunday, February 6, 2011

अब ६० वर्ष

मकवानपुर जिल्लाकै दोश्रो पुरानो विद्यालय बालबोध माध्यमिक विद्यालय, हटियाको ६० औं वार्षिकोत्सव (हीरक जयन्ती) सम्पन्न भएको छ । हटिया ३, भुलभुलेमा रहेको विद्यालयले माघ १७ गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी हीरक जयन्ती आज सम्पन्न भएको हो । कार्यक्रममा एक सातासम्म सञ्चालित श्रोतकेन्द्र स्तरीय शिक्षक फुटबल, हाजिरिजवाफ, आमाहरु बीचको घ्याम्पो फुटाउने प्रतियोगिता, दौड लगायतका प्रतियोगिताका विजयी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई पुरस्कृति गरिएको थियो । यस्तै विद्यालयमा लामो समय सेवा गर्नुभएका शिक्षकहरुलाई दीर्घ सेवा सम्मान, पूर्व शिक्षक, प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । यसैगरि विद्यालयमा १० जोड २ कक्षा सञ्चालनार्थ आर्थिक सहयोग गर्नुहुने अभिभावक एवं अन्य सहयोगीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा विद्यालयका विविध गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक चोलेन्द्रकुमार पण्डितले उमेरका हिसाबले वरिष्ठ रहेको विद्यालयले उचित स्रोत साधनको व्यवस्था र त्यसको सही उपयोग गर्दै शैक्षिक गुणस्तरमा पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक पण्डितले विद्यालयको शैक्षिक विकासका लागि आफ्नो तवरबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । विद्यालयमा आगामी शैक्षिक सत्रदेखि १० जोड २ कक्षा सञ्चालन गर्नका लागि अभिभावकहरुबाट हालसम्म करिब चार लाख रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक उत्तम अर्यालले बताउनुभयो । १० जोड २ का लागि आवश्यक पूर्वाधार तयार गर्न यो रकम पर्याप्त नरहेकाले थप सहयोगका लागि सम्पूर्ण पूर्व विद्यार्थी, अभिभावक एवं शिक्षाप्रेमीहरुसँग उहाँले आग्रह समेत गर्नुभएको छ ।
हीरक जयन्ती आयोजक म्ूल समारोह समितिका संयोजक भोला रुपाखेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका उप—निर्देशक लोकबहादुर लोप्चन, जिल्लास्थित विभिन्न राजनीतिक दल एवं संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

No comments:

Post a Comment